लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय

गुल्मी अस्पताल

तम्घास, नेपाल

अध्यक्षको सन्देश | गुल्मी अस्पताल

अध्यक्षको सन्देश

Message from the Chairperson

गुल्मी अस्पताल · Gulmi Hospital

गुल्मी अस्पताल, तम्घासले सीमित स्रोत–साधनका बाबजुद जिल्लावासी तथा सेवाग्राहीलाई गुणस्तरीय, सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। आर्थिक वर्ष २०८२/८३ मा अस्पतालबाट सञ्चालित विभिन्न स्वास्थ्य सेवा, कार्यक्रम तथा गतिविधिहरूलाई व्यवस्थित गर्दै सेवा प्रवाहमा निरन्तर सुधार गर्ने प्रयास भइरहेको छ। यस सन्दर्भमा अस्पतालको वार्षिक प्रगति प्रतिवेदनमार्फत अस्पतालले हासिल गरेका उपलब्धि, सामना गरेका समस्या तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीति र कार्ययोजनालाई समेटेर प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ।

स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो। यस अधिकारलाई व्यवहारमा सुनिश्चित गर्न अस्पतालले उपलब्ध स्रोत, साधन तथा जनशक्तिको अधिकतम उपयोग गर्दै सेवाग्राहीमैत्री वातावरण निर्माणमा जोड दिँदै आएको छ। सीमित भौतिक पूर्वाधार, जनशक्ति तथा स्रोत–साधनका बीच पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीहरूको निरन्तर मेहनत, समर्पण र सहकार्यका कारण अस्पतालबाट विभिन्न विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाहरू सञ्चालन भइरहेका छन्।

अस्पतालमा नियमित बहिरङ्ग सेवा, प्रयोगशाला, रेडियोलोजी, आकस्मिक सेवा, बालरोग तथा अन्य विशेषज्ञ सेवाका साथै आवश्यकता र सम्भावनाअनुसार थप सेवाहरू विस्तार गर्ने कार्य भइरहेको छ। प्रयोगशालालाई थप व्यवस्थित तथा आधुनिक बनाउँदै आवश्यक परीक्षणहरू अस्पतालमै उपलब्ध गराई बिरामीलाई बाहिर जानुपर्ने बाध्यता कम गर्ने तथा रिपोर्ट छिटो र भरपर्दो रूपमा उपलब्ध गराउनेतर्फ विशेष ध्यान दिइएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने प्रयाससमेत भइरहेको छ।

अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन भौतिक पूर्वाधारको विकाससँगै आवश्यक उपकरण, औषधि तथा दक्ष जनशक्तिको व्यवस्थापन अत्यन्त आवश्यक छ। नयाँ भौतिक संरचना तथा सेवा विस्तारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल भइरहेको छ। आगामी दिनमा अस्पतालको क्षमता अभिवृद्धि गर्दै थप विशेषज्ञ सेवा सञ्चालन गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने तथा सेवाग्राहीको विश्वास अझ मजबुत बनाउने हाम्रो लक्ष्य रहेको छ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालका पूर्वअध्यक्षहरू, मेडिकल सुपरिटेन्डेन्ट, चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी, सहयोगी कर्मचारीलगायत सम्पूर्ण अस्पताल परिवारले पुर्‍याउनुभएको योगदानप्रति हार्दिक आभार व्यक्त गर्दछु। उहाँहरूको अनुभव, सुझाव र सहयोग आगामी दिनमा पनि अस्पतालको विकासका लागि महत्त्वपूर्ण रहनेछ।

त्यसैगरी, अस्पताललाई आवश्यक सहयोग, सुझाव तथा समन्वय प्रदान गर्नुहुने स्थानीय तह, प्रदेश सरकार, स्वास्थ्यसम्बन्धी निकाय, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघ–संस्था, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा पनि यहाँहरूको निरन्तर सहयोग, समन्वय र सहकार्यबाट गुल्मी अस्पताललाई अझ व्यवस्थित, आधुनिक तथा सेवाग्राहीमैत्री अस्पतालका रूपमा विकास गर्न सफल हुने विश्वास लिएको छु।

अन्त्यमा, अस्पतालमा उपचार तथा स्वास्थ्य सेवा लिन आउनुहुने सम्पूर्ण सेवाग्राहीप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँहरूको सुझाव तथा प्रतिक्रियालाई अस्पतालको सेवा सुधारको महत्त्वपूर्ण आधारका रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। सबैको सहयोग, समन्वय र सहकार्यमा गुल्मी अस्पतालबाट जिल्लावासी तथा आसपासका क्षेत्रका नागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

धन्यवाद।

ई. राजेन्द्र प्रसाद पाण्डेय अध्यक्ष अस्पताल विकास समिति, गुल्मी अस्पताल