गुल्मी अस्पतालबाट दैनिक सरदर ३०० जना बिरामीले सेवा लिइरहेका छन्। अस्पतालले हाडजोर्नी, स्त्रीरोग, बालरोगलगायत विशेषज्ञ चिकित्सक सेवा, स्तरीय प्रयोगशाला, मिर्गौलाका बिरामीका लागि हेमोडायलाइसिस, अक्सिजन प्लान्ट तथा स्वास्थ्य बीमालगायतका सेवा सञ्चालन गरिरहेको छ।
सेवा विस्तारसँगै अस्पतालप्रति स्थानीयवासीको भरोसा र अपेक्षा बढ्दै गएको छ। जिल्लामै विशेषज्ञ उपचार सेवा उपलब्ध हुँदा बिरामीलाई बाहिरी सहर धाउनुपर्ने बाध्यता कम हुँदै गएको छ। अस्पतालले मासिक रूपमा क्यान्सर परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको छ।
अस्पताल ५० शय्यामा स्तरोन्नति भए पनि हाल पुरानो भवनका कारण पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न कठिनाइ भइरहेको छ। नवनिर्मित भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।
अस्पताल व्यवस्थापनका अनुसार नयाँ भवन सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण, विद्युत्, इन्धन तथा अन्य व्यवस्थापन खर्चको व्यवस्था प्रमुख चुनौतीका रूपमा रहेको छ। हेमोडायलाइसिस, एचडियु र आईसीयू सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा समेत थप पहल आवश्यक रहेको बताइएको छ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले अस्पतालको नवनिर्मित भवनको निरीक्षण गर्दै निर्माण कार्य छिट्टै सम्पन्न गरी सञ्चालनमा ल्याउन प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अस्पताल व्यवस्थापन समितिले जनशक्ति अभाव, स्वास्थ्य बीमाबापतको भुक्तानी, प्राविधिक व्यवस्थापन, इन्धन खर्च तथा विद्युत् महसुललाई प्रमुख चुनौतीका रूपमा औंल्याउँदै गुल्मी र अर्घाखाँचीका नागरिकलाई थप प्रभावकारी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारको सहयोग आवश्यक रहेको जनाएको छ।
समाचारदाता: टोपलाल अर्याल
समाचार स्रोत: गोरखापत्र अनलाइन
पूरा समाचार गोरखापत्र अनलाइनमा पढ्नुहोस्